असार ३०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी ५२ करोड बढीको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको १७ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष विना राईले सोमबार चालु तर्फ ३८ करोड ९ लाख ८० हजार ९ सय ४१ र पुँजीगत तर्फ १३ करोड ९१ लाख ३९ हजार ९ सय ४२ गरि कुल ५२ करोड १ लाख २० हजार ८ सय ८३ रुपैयाँको कुल बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागी ४ करोड बजेट बढाएर ल्याएको छ । गाउँपालिका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बीच गाउँपालिकाले आउने आर्थिक वर्षमा कार्यान्वयन गर्ने बजेट नीति तथा कार्यक्रम गाउँ सभामार्फत पारित गरेको सहकर्मी धनकुमार ढुङ्गेलको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष राईले प्रस्तुत गर्नुभएको बजेटमध्ये संघीय सरकारको ससर्त अनुदानबाट २३ करोड ९१ लाख, वित्तिय समानीकरण अनुदान मार्फत १० करोड ९७ लाख, राजस्व बाँडफाँडबाट ६ करोड ५१ लाख ६९ हजार ७ सय ४१, समपूरक अनुदानबाट १ करोड २२ लाख, विशेष अनुदान बाट ३ करोड ९० लाख रुपैयाँको अनुमानित आय सहितको बजेट पेश गर्नुभएको हो ।
यस्तै प्रदेश सरकारबाट गाउँपालिकाले ससर्त तर्फ ३ करोड ८ लाख २६ हजार, वित्तिय समानिकरणतर्फ १ करोड ७ लाख ५४ हजार, राजस्व बाँडफाँडतर्फ ४३ लाख २९ हजार, प्रदेश समपूरक अनुदान तर्फ १ करोड २० लाख अनुमानित बजेट अनुमान गरेको छ । यसै गरि गाउँपालिकाले आन्तरिक आय तर्फ मालपोत रजिस्ट्रेसन वापत २ लाख ५० हजार, आन्तरिक आय तर्फ ६३ लाख ५० हजार, अन्य संस्थागत अनुदान तर्फ ५९ लाख ४२ हजार १ सय ४२ र चालु आर्थिक वर्षबाट सञ्चित कोषमा जाने १ करोड १५ लाखको अनुमानित बजेट गाउँपालिकाले ल्याएको हो ।
Discussion about this post