जेठ १९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ काँगेल सिर्जनशील युवा समाजले श्रमदान गरेको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पन्चनका आगलागी पिडितको घर निमार्णका लागि श्रमदान गरेको हो ।
आगलागीबाट पूर्ण रूपमा क्षति भएका ३ घरको घर निर्माणका लागि प्रत्येक घरलाई १ दिन निःशुल्क श्रमदान गर्ने गरेको सिर्जनशील युवा समाज काँगेलका सचिव प्रकाश राईले जानकारी दिनुभयो । उहाँका अनुसार श्रमदान मार्फत पूर्ण रूपमा क्षति भएका पूर्ण बहादुर अधिकारी, बढी सुब्बा राई र हस्तमाया राई मध्ये आज पूर्ण बहादुर अधिकारीको घर निर्माणका लागि श्रमदान गरेको हो ।
समाजले आज अधिकारीको घरको जग सम्याउने कार्य गरेको छ, भने केहि समय अगाडी बढी सुब्बा राईको घर निर्माणका लागि एक दिन श्रमदान गरेको थियो । यस्तै पिडित हस्तमाया राईको घर निर्माणको लागि समेत श्रमदान गरिने बताइएको छ । समाजद्वारा आगलागिबाट पूर्ण रूपमा क्षति भएका तीन पिडित परिवारलाई प्रति घर ५० हजार ५ सय रुपैँया आर्थिक सहयोग र एक थान शेल्टर बक्स समेत प्रदान गरेको थियो ।
गाउँ घरमा पैसा भएर पनि श्रमिक पाउन नसक्ने अवस्थामा यसरी घरमा नै आएर श्रमदान गर्दा राहत भएको पिडित पूर्ण बहादुर अधिकारीले जानकारी दिनुभयो । यसरी समाजले आर्थिक सहयोगको साथै श्रमदान समेत गर्ने कार्य पिडितको लागि राहत हुने भएकोले अन्य संघ संस्थाले समेत यस्ता सकरात्मक कार्य सिक्नु पर्ने अधिकारीले अधिकारीको भनाई छ ।
गाउँघरमा श्रमदान गर्ने बानिको विकास गर्न र पिडितलाई राहत प्रदान गर्न आगलागी पिडितको घर निर्माणमा श्रमदान गरिएको समाजका अध्यक्ष चित्र कुमार राईले बताउनुभयो । समाजले काँगेलभित्र विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ भने आगामी दिनमा अन्य क्षेत्रमा समेत सामाजिक कार्यलाई विस्तार गर्दै जाने उहाँले प्रतिबद्वता व्यक्त गर्नुभयो ।
Discussion about this post