साउन १५, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले २ ठुला सहरमा गएर नागरिकलाइ सेवा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै साे पालिकाका नागरिकहरूका बसाेबास रहेकाे सहरहरू इटहरी र काठमाण्डौमा गएर एकिकृत सेवा शिविर मार्फत सेवा दिने भएको हो ।
गाउँपालिका स्थायी बसोबास भई काठमाण्डौमा बस्दै आएका नागरिकहरुका लागी साउन २७ र २८ गते २ दिन, यस्तै इटहरीमा बसोबास गरिरहेका नागरिकहरुका लागी भाद्र १ र २ गते २ दिन सेवा शिविरको आयोजना गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउनुभयो । यस शिविरमार्फत उपत्यकाका ३ जिल्ला ललितपुर, भक्तपुर र काठमाण्डौमा बसोबास गर्नेहरुले र इटहरीमा आयोजना हुने शिविरमार्फत पुर्वि सहरहरु धरान, विराटनगर, इटहरी लगायत आसपास बस्ने नागरिकहरुलाई सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताउनुभयो ।
वर्षातको समय भएकाले सामान्य सिफारिस जस्ता सेवाका लागी पनि गाउँपालिका आउन नागरिकलाई झण्झट हुने भन्दै गाउँपालिकाले बसोबास स्थलमै गएर सेवा दिने अवधारणा अघि सारेको हो । जिल्लामै पहिलो पटक गाउँपालिकाले सेवा शिविरलाई सहर बेन्द्रित बनाउने अभियान थालेको छ । सेवा शिविर मार्फत राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण सेवा, सामाजिक सुरक्षा भत्ता नविकरण तथा अद्यावधीक लगायत सेवा प्रदान गरिने छ ।
७ वडा रहेको गाउँपालिकाका नागरिकहरु विभिन्न पेशा व्यवसाय तथा अन्य समस्याका कारण सहरमा बस्दै आएका छन् । शिविरले उनिहरुको बाध्यतालाई सहज बनाउने गाउँपालिका उपाध्यक्ष राजेश राजभण्डारीले बताउनुभयो । गाउँपालिकाले आयोजना गर्ने शिविर इटहरीमा इटहरी उपमहानगरपालिकाको सभाहल मार्फत सञ्चालन हुने छ भने काठमाण्डौमा चावाहिल चोकको एसी कम्प्लेक्स नजिकै सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो । सेवाग्राहीले आवश्यक जानकारीका लागी सम्बन्धीत वडाका अध्यक्षहरुसँग सम्पर्क गर्न सक्ने पनि जनाइएको छ ।
Discussion about this post