साउन १८, सोलुखुम्बु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुले चालु आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ९१ लाख ६४ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको छ । सोलुखुम्बु शाखा प्रमुख अमिताभ कुमार यादवका अनुसार विभिन्न शाखा तथा डिपोमार्फत गरिएको खाद्यान्न बिक्रीबाट उक्त राजश्व संकलन गरिएको हो । शाखा कार्यालय सोलुखुम्बुबाट सबैभन्दा बढी १ करोड २८ लाख ८ हजार ७ सय २५ रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यस्तै डिपो कार्यालय लुक्लाबाट ७७ लाख ६१ हजार ८ सय ७५ रुपैयाँ, डिपो कार्यालय सोताङबाट १९ लाख ८० हजार रुपैयाँ र बिक्री केन्द्र खुम्जुङबाट ६६ लाख १४ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको तथ्याङ्कमा उल्लेख छ । जस्मा शाखा कार्यालय सोलुखुम्बुमा १ हजार ९ सय ९५ क्विन्टल स्टिम जिरा मसिनो चामल भित्र्याइएकोमा ९११.२५ क्विन्टल बिक्री गरिएको छ । यस्तै, ७२५ क्विन्टल अरुवा सोना मंसुली चामलमध्ये ६२२.२५ क्विन्टल बिक्री भएको छ ।
एफआर स्टिम जिरा मसिनो चामल १५ क्विन्टल सबै बिक्री भएको छ भने २० क्विन्टल एफआर अरुवा सोना मंसुली चामलमध्ये ११.७५ क्विन्टल बिक्री भएको छ । डिपो कार्यालय लुक्लामा १ हजार १६० क्विन्टल स्टिम जिरा मसिनो चामल आयात गरिएकोमा ७५६.५ क्विन्टल बिक्री भएको छ । त्यस्तै ९० क्विन्टल अरुवा सोना मंसुली चामलमध्ये ५० क्विन्टल बिक्री भएको जनाइएको छ । सोताङ डिपोमा ३०० क्विन्टल अरुवा सोना मंसुली चामल बिक्री भएको छ भने खुम्जुङ बिक्री केन्द्रमा ५८५ क्विन्टल चामल र १८५ क्विन्टल अरुवा सोना मंसुली चामल बिक्री भएको कम्पनीले जनाएको छ ।
राजश्व संकलनमा देखिएको सकारात्मक प्रगति खाद्य आपूर्ति तथा व्यवस्थापनमा कम्पनीको सक्रियता र प्रभावकारी वितरण प्रणालीको प्रमाण भएको शाखा प्रमुख यादवले बताउनुभयो । जिल्लामा अन्य स्थानीय तह भन्दा सबै भन्दा बढी सोलुदुधकुण्ड नगरपालिका भित्रै बढी चामल खपत हुने गरेको छ ।
Discussion about this post