भदौ २०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा १९ औँ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरूका साथ मनाइएको छ । प्रमुख जिल्ला अधिकारी तथा मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रण जिल्ला समितिका संयोजक लिला कुमारी के.सी. पाण्डेको अध्यक्षता र जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो । शुक्रबार बिहान ८ बजे जिल्ला समन्वय समिति सोलुखुम्बुको प्राङ्गणबाट र्याली सुरु गरी नयाँ बजारमा पुगेर समापन गरिएको थियो ।
र्यालीमा विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सरोकारवालाहरुले मानव बेचबिखन एक गम्भीर मानव अधिकार उल्लङ्घन भएको भन्दै यसविरुद्ध सबै मिलेर एकजुट हुनुपर्ने धारणा राखेका छन् । उनीहरूले सचेतना अभिवृद्धि, कानुनी कार्यान्वयन र समुदाय स्तरबाट निगरानी प्रणाली बलियो बनाउनु पर्नेमा जोड दिएका थिए ।
यस्तै प्रमुख अतिथि निरौलाले सोलुखुम्बु जिल्लामा मानव बेचबिखन तथा ओसारप्रसारका घटना अन्य जिल्लाको तुलनामा कम भए तापनि मानव अधिकार उल्लङ्घनका घटना भने हुने गरेकाले सचेत रहनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
उहाँले स्थानीय प्रशासन, नागरिक समाज र समुदायबीच सहकार्य भएर यस्तो समस्या न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । यस कार्यक्रमले जिल्लामा मानव बेचबिखन र ओसारप्रसार विरुद्धको जनचेतना फैलाउने काममा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
Discussion about this post