भदौ २०, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा परीक्षण शिविर सञ्चालन गरिने भएको छ । गाउँपालिकाको आयोजनामा र जिल्ला सामुदायिक आँखा केन्द्र, ओखलढुंगाको समन्वयमा मोतियाविन्दु पहिचान तथा उपचारको उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो ।
शिविर असोज ७ गते दियाले स्वास्थ्य चौकी र असोज ८ गते रातमाटे स्वास्थ्य चौकीमा सञ्चालन गरिनेछ । शिविरमा मोतियाविन्दुका बिरामीहरूको पहिचान गरी असोज २२ र २३ गते शल्यकृया जिल्ला सामुदायिक आँखा केन्द्र, ओखलढुंगामा गरिने कार्यक्रम रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थिर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा एसआइसिएस प्रविधिमार्फत निःशुल्क सेवा प्रदान गरिनेछ । यस अभियानबाट स्थानीय बासिन्दाहरूले आफ्नो आँखाको स्वास्थ्य स्थिति बुझ्न, समयमै उपचार गराउन तथा मोतियाविन्दुबाट ग्रसित बिरामीले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
Discussion about this post