भदौ २५, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले कर्फ्यू आदेश जारी गरेको छ । दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी आजदेखि कर्फ्यू आदेश जारी गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम जारी गरिएको आदेशअनुसार सोलुखुम्बु जिल्लाभित्र कुनै पनि प्रकारका र्याली, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घरायसी जमघटसमेत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
प्रशासनले जनसमूह जमघटका गतिविधिबाट सार्वजनिक सुरक्षामा खलल पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कफ्र्यू आदेश जारी गरिएको जनाएको छ । यद्यपि अत्यावश्यक सेवासम्बन्धी सवारीसाधनहरुमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटन क्षेत्रसँग सम्बन्धित सवारी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरू सुरक्षाकर्मीको सहजीकरणमा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।
कर्फ्यू अवधिभर जिल्लाभरका सबै पसलहरू बन्द गरिनेछन् भने सवारीसाधनको आवतजावतमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी पाण्डेले बताउनुभयो । सार्वजनिक सुरक्षाको प्रत्याभूति गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले सबै नागरिकलाई जारी गरिएको कर्फ्यू आदेशको पालना गर्न आग्रह गर्दै उल्लङ्घन भएमा कानून बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
Discussion about this post