असोज ६, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ भकान्जेमा १ दिने चिया सम्बन्धी प्रयोगात्मक तालिम सम्पन्न भएको छ । नेपाल सरकार अन्तर्गत राष्ट्रीय चिया तथा कफि विकास बोर्डको आयोजना तथा बोर्डको थुलुङ दुधकोशी शाखाको सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो ।
भकान्जेमा चियाका कृषकहरूलाई लक्षित गरी “गुणस्तरीय हरियो पात टिपाइ तथा ग्रेडिङ सम्बन्धी फिल्डस्तरीय १ दिने प्रयोगात्मक तालिम” दिइएको आयोजकले जनाएको छ । उक्त तालिममा सहभागी कृषकहरूले चियाको हरियो पत्ति टिप्ने सीपमा अझै दक्षता हासिल गरेका छन् । उनीहरूले पत्ति टिप्ने क्रममा अपनाउनु पर्ने सावधानी, सही विधि, र ग्रेडिङ प्रक्रिया सम्बन्धी ज्ञान हासिल गरेका छन्, जसले उत्पादनको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् ।
कृषकहरूले तालिमबाट प्राप्त सीपको सुदुपयोग गर्दै आगामी दिनमा अझ गुणस्तरीय चिया उत्पादन गरी बजारमा प्रतिस्पर्धात्मक रुपमा बिक्री गर्ने तथा आम्दानी बढाउने दृढ संकल्प व्यक्त गरेका छन् । भकान्जे टि स्टेटले पनि तालिमले स्थानीय चिया उद्योगमा थप प्रोत्साहन दिने विश्वास राखेको छ । टि स्टेटका अनुसार भकान्जेमा चिया उत्पादनमा उल्लेखनीय फड्को मारिसकेको छ र अबको लक्ष्य अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय चिया उत्पादन गर्ने रहेको छ ।
तालिमका प्रशिक्षक दिपक चौधरीले कृषकहरूले यस्ता तालिमहरूमा सिकेका प्रविधि र सावधानीलाई व्यवहारमा उतारे भने भकान्जे चिया विश्व बजारमा आफ्नो पहिचान बनाउन सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।
Discussion about this post