असोज १३, सोलुखुम्बु । चाडपर्वलाई लक्षित गरी सोलुखुम्बुमा सञ्चालित सुपथ मूल्य पसलबाट हालसम्म ११ लाख ८७ हजार २ सय २५ रुपैयाँ बराबरको चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुले भदौ ३० गतेदेखि असोज १२ गतेसम्म ६१५ बोरा (करीब १५३.७५ क्विन्टल) चामल बिक्री गरेको हो ।
कम्पनीका प्रमुख अमिताभ कुमार यादवका अनुसार यो वर्ष सोलुखुम्बु शाखालाई ५०० क्विन्टल चामल सुपथ मूल्यमा बिक्री गर्न कोटा तोकिएको थियो । हालसम्म १५३.७५ क्विन्टल बिक्री भइसकेको हुँदा अझै ४७८ क्विन्टल अर्थात् १,९१२ कोटा बिक्री गर्न बाँकी रहेको छ । सुपथ मूल्य पसल मार्फत सोना मन्सुली चामल, फोर्टिफाइड स्टिम जिरा मसिनो चामल र फोर्टिफाइड अरुवा चामलमा प्रतिकेजी ५ रुपैयाँ छुटमा बिक्री गर्ने भइरहेको छ ।
सोना मन्सुली चामल र फोर्टिफाइड स्टिम जिरा मसिनो चामल प्रति बोराको २५ के.जी बराबर २१ सय २५ रुपैयाँ र फोर्टिफाइड अरुवा चामल प्रति बोरा १४ सय ७५ रुपैयाँमा बिक्री भइरहेको जनाइएको छ । खाद्य कम्पनीले आम उपभोक्ताको हितमा अत्यावश्यक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरेको हो । चामल बिक्री आगामी कार्तिक १० गतेसम्म जारी रहने जनाइएको छ ।
Discussion about this post