असोज १३, सोलुखुम्बु । बडा दशैंको सातौँ दिन सोमबार सोलुखुम्बु जिल्लामा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला सदरमुकाम सल्लेरी बजारमा बाजागाजासहित फूलपाती भित्र्याइएको हो । फूलपाती भित्र्याउने उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी लिला कुमारी खत्री पाण्डे, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
परम्पराअनुसार उखु, अदुवा, बेलपत्र, दारिम, अशोक फूललगायतका नवपत्रिका फूलपातीको रूपमा दशैँघरमा भित्र्याइएको हो । यस अवसरमा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने परम्परा अनुसारको सांस्कृतिक झाँकी तथा बाजागाजाले वातावरण भक्तिमय बनाएको थियो । फूलपातीको यस धार्मिक तथा सांस्कृतिक अनुष्ठानले समुदायमा उत्साह थप्नुका साथै नेपाली संस्कृति र परम्पराको संरक्षणमा योगदान पु¥याउने विश्वास गरिएको छ ।
Discussion about this post