असोेज १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ जुनबेशीमा जारी तीन दिने निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायमा स्वास्थ्य सेवा पहुँचको नयाँ आयाम थपेको छ । शिविरको दोस्रो दिनमै २६५ जनाले सेवा लिएको तथ्यांकले गाउँस्तरमै गुणस्तरीय सेवा पुर्याउने सम्भावनालाई उजागर गरेको छ ।
कुशुदेबु जनस्वास्थ्य अभियान नेपालका सल्हाकार छेपाल शेर्पाका अनुसार, स्वास्थ्य सेवा लिनेमा महिला संख्या १३७ र पुरुष १२८ रहेका छन। शिविरले विशेषगरी वृद्धवृद्धा, महिला र आर्थिक रूपमा पछाडि परेका वर्गलाई लक्षित गर्दै उनीहरूको घर नजिकै विशेषज्ञ सेवा पुर्याएको छ । शिविरमा रोग पहिचान तथा उपचारका साथै जनस्वास्थ्य सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ । सहभागी स्वास्थ्यकर्मीहरूले दीर्घकालीन रूपमा स्वस्थ जीवनशैली अपनाउने सन्देश पनि दिएका छन् ।
शिविर सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा, वडा नं. २ को सहआयोजनामा, कुशुदेबु जनस्वास्थ्य अभियान नेपाल, काठमाडौं र अन्तर्राष्ट्रिय साझेदार वेल्डरनेस इन नेपाल, अस्ट्रेलियाको सहयोगमा सञ्चालन भइरहेको हो । यो प्रयासले स्थानीय तह, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय समुदायबीचको सहकार्यले कसरी प्रभावकारी जनस्वास्थ्य सेवा प्रवाह गर्न सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ ।
यस किसिमका स्वास्थ्य शिविरहरूले अल्पकालीन सेवा मात्र होइन, दीर्घकालीन स्वास्थ्य शिक्षा र समुदायमा रोगप्रति सतर्कता अभिवृद्धिमा समेत योगदान दिने विज्ञहरू बताउँछन् । स्थानीय स्तरमै यस्ता पहलहरूलाई नियमितता दिइन सके, दुर्गम क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य अधिकार सुनिश्चित गर्न महत्वपूर्ण टेवा पुग्ने स्पष्ट संकेत देखिएको छ ।
Discussion about this post