असोज २३, सोलुखुम्बु । असोज १७ देखि परेको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध बनाएपछि सोलुखुम्बु–काठमाडौँ यात्रामा गम्भीर समस्या देखिएको छ। विपि राजमार्ग अन्तर्गत नेपालथोक क्षेत्रमा आएको बाढीले सडकको डाईभर्सन बगाएपछि नियमित मार्ग बन्द भएको छ । यस कारण सोलुखुम्बुबाट काठमाडौँ पुग्न यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् ।
विकल्पका रूपमा सोलुखुम्बुबाट घुर्मी, खुर्कोट, मन्थली, चरिकोट हुँदै काठमाडौँ जानुपर्ने भएपछि यात्रा समय १८ घण्टासम्म लम्बिएको छ । सल्लेरीमा रहेको सुपर दूधकोशी एक्सप्रेस प्रा.लि.का सञ्चालक भगवती बस्नेतका अनुसार यस वैकल्पिक मार्गले यात्रालाई अत्यन्तै कष्टकर बनाएको छ । अवरोधका कारण असोज १७ देखि रोकिएको छोटो तथा लामो दुरीको सार्वजनिक यातायात असोज २१ गतेदेखि मात्र पुनः संचालनमा आएको हो ।
चाडपर्व मनाएर गाउँ फर्किन खोज्ने नागरिकहरू लामो यात्रा र महँगो भाडाको मारमा परेका छन् । हाल सोलुखुम्बुदेखि काठमाडौँसम्मको सुमो यात्रा भाडा प्रतिव्यक्ति ३,५०० देखि ४,००० रुपैयाँसम्म लिइएको पाइएको छ ।
Discussion about this post