असोज २७, सोलुखुम्बु । खोटाङको हलेशी तुवाचुङ नगरपालिका भित्र व्यवसायिक बदाम खेती गर्ने कृषकहरूलाई लक्षित गर्दै बदाम उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम संचालनमा ल्याइने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत उक्त कार्यक्रम सुरु गर्न लागिएको हो ।
यस कार्यक्रम अन्तर्गत कम्तीमा ५ मुरीभन्दा बढी बदाम उत्पादन गर्ने इच्छुक कृषकहरूले २१ दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक विवरणसहित निवेदन दिनुपर्ने छ । नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत वसन्त गिरीका अनुसार, निवेदन दिने कृषकहरूले आफ्नो उत्पादन विवरणसहित आवश्यक कागजातहरू संलग्न गर्नुपर्नेछ ।
कार्यक्रमको उद्देश्य बदाम खेतीलाई व्यवसायिक रूप दिनुका साथै कृषकहरूको आम्दानीमा वृद्धि गर्नु रहेको छ । यस कार्यक्रमले हलेशी क्षेत्रका कृषकहरूलाई बदाम उत्पादनतर्फ आकर्षित गर्ने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
Discussion about this post