असोज ३०, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले तिहार पर्वमा राति १० बजेपछि देउसी(भैलो खेल्न नपाइने जनाएको छ। एक सूचना जारी गर्दै कार्यालयले तिहारका अवसरमा देउसी(भैलो कार्यक्रमहरू मर्यादित, शान्तिपूर्ण र सार्वजनिक यातायातमा अवरोध नहुने गरी सञ्चालन गर्न आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाद्वारा जारी सूचनामा तिहारको शुभकामना दिँदै देउसी, भैलो समयसीमा भित्रै मात्र सञ्चालन गर्न अनुरोध गरिएको छ। सूचनामा राति १० बजेपछि देउसी(भैलोमा प्रतिबन्ध लगाइएको स्पष्ट गरिएको छ। त्यसैगरी, कार्यालयले तिहारमा पटका, आतसबाजी, झरझरे, भुइँचम्पाजस्ता प्रज्वलनशील तथा विस्फोटक वस्तुहरूको निकासी, ओसारपसार, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। सुरक्षाको दृष्टिकोणले यस्ता पदार्थको आयात तथा विक्रीमा रोक लगाइएको जनाइएको छ।
प्रशासनले भीडभाडजन्य गतिविधि नगर्न, जुवा तास नखेल्न(नखेलाउन, मैनबत्ती वा विद्युत बत्ती प्रयोग गर्दा उच्च सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, नियम विपरीत कार्य गरे कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ। तिहारलाई मर्यादित, सुरक्षित र उल्लासपूर्ण बनाउन सोलुखुम्बु प्रशासनले सबैमा सहयोगको अपेक्षा गरेको छ।
Discussion about this post