कार्तिक ९, सोलुखुम्बु । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आईसीटी निर्माण गर्ने घोषणा गर्नुभएको छ । धनकुटाको सहिद भूमि गाउँपालिकामा आइतबार आयोजित कार्यक्रममा उनले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने घोषणा गर्नु भएको हो ।
त्यस अवसरमा खेतान फाउन्डेसनले सहिद भूमि गाउँपालिका–६ मा रहेको ठाकुरदेवी माध्यमिक विद्यालयमा निर्माण गरिदिएको विद्यालय भवनको मुख्यमन्त्री कार्कीले उद्घाटन गर्नुभएको छ । ९२ लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवन सीपी फाउन्डेसनले निर्माण गरिदिएको हो । विद्यालयको आठकोठे भवन निर्माण भएपछि सो पालिकाका सबै विद्यालय सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधार युक्त विद्यालय बनाउने सीपी फाउन्डेसनले जानकारी दिएको छ । मुख्यमन्त्री कार्कीले सहिदहरूको सम्मान र त्यस क्षेत्रको विकासका लागि विद्यालय निर्माणको कार्यक्रम सहिद भूमि पालिकामा गर्न सीपी फाउन्डेसनलाई आग्रह गरिने बताउनुभयो ।
फाउन्डेसनले विभिन्न दातृ संस्थाको सहयोगमा कोशी प्रदेशको हिमाली तीनवटा जिल्ला र पहाडी आठवटा जिल्लाका करिब ५०० विद्यालयको पूर्वाधार र आईसीटी निर्माण गरिदिने समझदारी यसै आर्थिक वर्षभित्रै हुने मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । सो सम्झौता आवश्यक कानुनी प्रक्रिया मिलाएर हुने बताइएको छ । फाउन्डेसनले कोशी प्रदेश सरकारसँग यो सम्झौता गर्ने र सँगसँगै कार्यक्रमलाई अगाडि बढाउने छ । यी विद्यालय बनाउन करिब १५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ ।











Discussion about this post