कार्तिक २१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टिङमा स्वर्गीय देण्डी शेर्पाको स्मृतिमा विभिन्न सामाजिक, स्वास्थ्य तथा खेलकुद कार्यक्रमहरू आयोजना गरिने भएको छ । कार्यक्रमहरू वडा कार्यालय र सेभेन समिट फाउण्डेशनको संयुक्त आयोजनामा सञ्चालन गरिने वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो । कार्यक्रम अनुसार कार्तिक २६, २७ र २८ गते गोराखानी, टाप्टिङमा मोतियाबिन्दु (मोतिविन्दु) परीक्षण शिविर सञ्चालन हुनेछ।
सो परीक्षणबाट छनोट भएका बिरामीहरूको मोतियाबिन्दु शल्यक्रिया कार्तिक २९ र ३० गते ओङछु शेर्पा मेमोरियल अस्पतालमा गरिनेछ । यससँगै, स्व. देण्डी शेर्पाको स्मृतिमा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गरिनेछ । सो प्रतियोगिता कार्तिक २८ देखि मंसिर १ गतेसम्म फातान्जे आधारभूत विद्यालय, खाम्दीङमा हुने बताइएको छ । त्यसैगरी, कार्तिक २९ गते पिके पिक ट्रेकिङ ट्रेल फोहर संकलन अभियान समेत सञ्चालन गरिनेछ ।
कार्यक्रमको अन्तिम दिन मंसिर १ गते बिहान १० बजे टाढपानी नजिक फोक्टे डाँडास्थित बुद्धपार्कको शिलान्यास कार्यक्रम र खेलकुद कार्यक्रमको समापन समारोह हुनेछ । सोही दिन साँझ ख्यातिप्राप्त कलाकारहरूद्वारा सांगीतिक साँझ कार्यक्रम समेत आयोजना गरिनेछ । वडा अध्यक्ष मगरका अनुसार, स्व. देण्डी शेर्पाको योगदानलाई स्मरण गर्दै स्वास्थ्य, वातावरण संरक्षण र खेलकुदजस्ता गतिविधिहरूमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।










Discussion about this post