जेठ २३, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका किसानको मकैमा हावाहुरी र असिनापानीको बज्रपात परेको छ । मंगलबार दिउँसो परेको असिना पानीले किसानको मकै सखाप बनाइदिएको हो । यस वर्षकै ठुलो असिना पानी मंगलबार परेको र सो हावाहुरीले थुलुङ दुधकोसी गाउँपालिकाका किसानको मकैबाली ढलाएर नष्ट बनाएको गाउँपालिका कृषि शाखाले जनाएको छ । आलु र मकै खेती प्रस्त हुने गाउँपालिकामा यो पटक मकैले राम्रै उत्पादन दिने आसमा किसान थिए । तर हावाहुरी सहित परेको असिनापानीले गाउँपालिकाको करिव ६ सय हेक्टर क्षेत्रफलको मकैबाली नष्ट बनाएको छ ।
झण्डै १ हजार ८ सय क्षेत्रफलमा मकैबाली खेती गरिने गाउँपालिकाको माथिल्लो भेगका किसानको मकैबालीमा असिना पानीको बज्रपात परेको गाउँपालिकाका वाली विकास अधिकृत डिल्लुनाथ योगीले बताउनुभएको छ । मकैमा असिना सहितको हावाहुरीको प्रकोप पर्दा यो वर्ष किसानको मकै उत्पादनमा भारि गिरावट आउने सम्भावना बढेर गएको उहाँको भनाई छ ।
हावाहुरीका कारण मुख्य रुपमा मकैबालीलाई प्रभाव पारेको छ भने अन्य वालीहरू सुन्तला, किवि लगायतलाई पनि उल्लेख्य असर गरेको उहाँले बताउनुभयो । फुल्दै गरेको सुन्तलाको बोट असिनाको कारणले गर्दा भाँचिदिएको छ भने कतिपय रूखहरू ढलेका छन । गाउँपालिकाले यस वर्ष मकै उत्पादनको अनुमानित तथ्याङ्क ननिकाल्दै बालीमा यसरी विपत्तिको बज्रपात परेको गाउँपालिकाले जनाएको छ ।
तर अघिल्लो वर्ष गाउँपालिकाले गरेको उत्पादनको अनुमानित प्रक्षेपणको तुलनामा यस वर्ष उत्पादन घट्ने देखिएको छ । गाउँपालिकाले अघिल्लो वर्ष ४ हजार ४ सय मेट्रिक टन मकै उत्पादनको प्रक्षेपण गरेको थियो ।
Discussion about this post