जेठ २३, साेलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका नागरिकले गाउँपालिकामा अनुत्पादक क्षेत्रमा बजेट कम लगानी गर्न सुझाव दिएका छन । गाउँपालिकामा सुरु भएको आगामी आर्थिक वर्ष २०८१÷८२ को योजना तर्जुमा तथा छलफल कार्यक्रममा भाग लिने क्रममा सहभागीहरूले आउने आर्थिक वर्षमा गाउँपालिकामा बजेट बनाउँदा अनुत्पादक क्षेत्रमा कम गर्दै आम्दानीको दिगो श्रोतहरू पहिचान गर्न सुझाएका हुन ।
महाकुलुङ गाउँपालिकाको सभाहलमा सम्पन्न छलफल कार्यक्रमका सहभागि राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरूले कृषि पर्यटन सँग सम्बन्धित कार्यक्रमहरू ल्याइनुपर्ने, दिगो विकासका अवधारणालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन । आगामी आर्थिक वर्षका लागी नीति योजना तथा कार्यक्रम एवं बजेट तर्जुमाका विषयमा छलफल तथा सुझाव सङ्कलनको कार्यक्रम आयोजना गरि नागरिकका सुझावलाई लिएर आउने आर्थिक वर्षका लागी नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले जानकारी दिनुभएको छ ।
सरकारी तथा गैरसरकारी संस्थाहरूले समेत स्थानीय तहसँग सहकार्य गरेर विभिन्न कार्यक्रमहरू गरिरहेकोमा आउने आर्थिक वर्षमा पनि नियमित जसरी स्थानीय तहसँगको सहकार्य जारी राख्दै काम गरिने सङ्घसंस्थाका प्रतिनिधित्वले जनाएका छन । गाउँपालिकालाई समृद्ध बनाउन सङ्घसंस्थाहरूसँगको सहकार्य बढाउन गाउँपालिका तयार रहेको अध्यक्ष राईको भनाइ छ ।
सम्पन्न छलफल तथा सुझाव संकलन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोले, गाउँपालिकाका सबै ५ वटै वडाका अध्यक्षहरू, लगायत गाउँपालिकाका कर्मचारी, प्रमुख राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकामा काम गर्दै गरेका विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवीहरू, सञ्चारकर्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको संवाददाता उद्धवराज कुलुङ जानकारी दिनुभयो ।
Discussion about this post