मंसिर १०, साेलुखुम्बु । सोताङ गाउँपालिका सोलुखुम्बुले विद्यालय समयमा चार पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाएको छ । गाउँपालिकाले विद्यार्थी आउजाउ गर्ने समयमा विादलय आसपास ४ पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको हो । अभिभावकबाट बढ्दो जनगुनासोलाई मध्यनजर गर्दै गाउँपालिकाले गत कार्तिक ३० गते कार्यपालिका मार्फतनै निर्णय गरेर सवारी सञ्चालनमा रोक लगाइएको हो । गाउँपालिकाले बुधबार सूचना जारी गर्दै दैनिक विहान ९ बजेदेखि १० बजेसम्म र अपराह्न ४ बजेदेखि ५ बजेसम्म सोताङ गाउँपालिकाको भक्तबहादुर दाहालको घरको ठाडो बाटो हुँदै डाँडागाउँसम्म तथा फुस्तेल चोकदेखि बजार कम्पाउण्डसम्मको मार्गमा कुनै पनि चारपांग्रे सवारी साधन संचालन गर्न नपाइने स्पष्ट पारेको छ । निर्धारित समयमा विद्यार्थीहरूको आवतजावत अत्यधिक हुने भएकाले उनीहरूको सुरक्षामा जोखिम बढेको भन्दै सवारी निषेध आवश्यक भएको गाउँपालिकाले बताएको छ । यस अवधिमा प्रतिबन्धको उल्लङ्घन गरिएमा प्रचलित कानुन अनुसार आवश्यक कारबाही गरिने चेतावनी दिँदै निमिक्त प्रमुख प्रशासनिक अधिकृत श्रीध्वज राईले अभिभावक र सर्वसाधारणको सहयोगका लागि आग्रह समेत गर्नुभएको छ ।










Discussion about this post