मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ आधारभूत अस्पतालमा पहिलोपटक गरिएको शल्यक्रियाबाट स्थानीय महिला २६ वर्षीया सर्मिला कुलुङले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । महाकुलुङ–१ बुङकी कुलुङले शल्यक्रिया मार्फत पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।
स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्यका अनुसार नवजात शिशुको तौल ४.८ किलो रहेको छ र आमा–शिशु दुवैको अवस्था सामान्य रहेको छ । निर्धारित समयभन्दा ढिलो प्रसव हुनुका साथै गर्भमै मल त्याग गरिसकेकाले तत्काल शल्यक्रिया आवश्यक परेको चिकित्सक टोलीले जनाएको छ ।
शल्यक्रिया एमडिजिपी डा. सागर खड्काको नेतृत्वमा सम्पन्न गरिएको थियो । टोलीमा डा. कविन्द्र राई, डा. रोशन कुलुङ, एनेस्थेसिया विशेषज्ञ पुनम कुमारी शाह, नर्स सोनी राई र अर्पणा कुलुङ तथा अहेव ओसन खालिङ सहभागी थिए । सफल शल्यक्रियापछि गाउँपालिका अध्यक्ष सूर्य कुलुङले स्वास्थ्य सेवा क्षेत्रमा लामो प्रयासको प्रत्यक्ष उपलब्धि प्राप्त भएको बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख आचार्यले स्थानीय स्तरमै शल्यक्रिया सेवा सुरु हुनु गाउँबासीको वर्षौंदेखिको अपेक्षा पूरा भएको दिन भएको बताउनुभयो । गाउँपालिकाले १५ शैयाको स्तरोन्नत अस्पतालको औपचारिक उद्घाटन मंसिर २६ गते गर्ने तयारीसमेत गरेको छ ।










Discussion about this post