मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि पारित भएका ५ लाखसम्मका योजनाहरूको प्रभावकारी कार्यान्वयनका उद्देश्यले योजना सम्झौता तथा उपभोक्ता समितिको अभिमुखिकरण सम्बन्धी शिविर संचालन हुने भएको हो ।
गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयमा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर २३ र २४ गते वडा नम्बर २ मा, मंसिर २८ र २९ गते वडा नम्बर ४ मा, पुस १ र २ गते वडा नम्बर ५ मा, पुस ३ र ४ गते वडा नम्बर १ मा तथा पुस ६ र ७ गते वडा नम्बर ३ स्थित गाउँकार्यपालिकाको कार्यालयमा शिविर सञ्चालन गरिने छ ।
योजनाको पारदर्शिता, समयमै कार्यान्वयन र उपभोक्ता समितिको भूमिका स्पष्ट बनाउन अभिमुखिकरण शिविरले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । गाउँपालिकाले सबै उपभोक्ता समितिका प्रतिनिधिहरूलाई तोकिएको मिति र स्थानमा अनिवार्य उपस्थित रहन आग्रह गरेको छ ।











Discussion about this post