मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० को टाप्टीङ र लुम्सालाई जोड्ने घट्टेखोला मोटरेबल पुल उद्घाटन गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङले पुलको उद्घाटन गर्नुभएको हो ।
आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सञ्चालन भएको पूर्वाधार विकास योजनाअनुरूप निर्माण गरिएको यो पुलसँगै लुम्सा–जुके–दिमिल क्षेत्रको प्रवेशद्वार समेत पुनर्निर्माण गरिएको कार्यवाहक वडा अध्यक्ष तेन्जी शेर्पा जानकारी दिनुभयो ।
करिब ५० लाख रुपैयाँ बराबरको लागत स्विस दातृ निकायले व्यहोरेको वडा कार्यालयले जनाएको छ । पुल सञ्चालनमा आएसँगै वर्षायाममा ठूलो खोलाबाट आवतजावत गर्दा भोग्नुपर्ने कठिनाइ अब अन्त्य हुने स्थानीयवासीको विश्वास छ । पुलले दैनिक गतिविधि, व्यापार–व्यवसाय, विद्यार्थीको विद्यालय जाने–आउने काम तथा स्वास्थ्य सेवामा पहुँच सहज हुने भएकाले स्थानीयहरू खुशी देखिएका छन् ।
उद्घाटन कार्यक्रममा एक्टिभ फ्रेन्डका एजेन्सी निर्देशक मिङमार शेर्पा, स्विस दातृ निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा ठूलो संख्यामा रहेका बासिन्दाहरू सहभागी थिए।












Discussion about this post