जेठ २४, सोलुखुम्बु । सोलुखुम्बुको हिमाल दर्शन माध्यमिक विद्यालयमा एक कक्षाकोठा एक धारा स्थापना गरिएको छ । आज हिमाल दर्शन पूर्व विद्यार्थी समाजले विद्यालयमा एक कक्षाकोठा एक धारा कार्यक्रम अन्तर्गत सबै १७ कक्षाकोठामा पानी सहितको १७ वटै धारा स्थापना गरिएको हो ।
समाजले तय गरेको कार्यक्रम ५० वर्ष ५० संकल्प अन्तर्गतको दोश्रो कार्यक्रम आज सम्पन्न गरिएको हिमाल दर्शन पूर्व विद्यार्थी समाजका अध्यक्ष दिनराज बास्तोलाले बताउनुभयो । विद्यालयका सबै कक्षाकोठामा विद्यार्थीहरूलाई खानेपानी उपलब्ध हुने विश्वासका साथ एक कक्षाकोठा एक धारा स्थापना गरिएको उहाँको भनाई छ ।
यस अघि समाजले पहिलो कार्यक्रम अन्तर्गत भित्तेपात्रो वितरण गरेको थियो भने यसपछि सामुदायिक विद्यालयका विज्ञसँग शैक्षिक छलफल गरिने उहाँले बताउनुभयो । आज विद्यालयमा समाजका अध्यक्ष बाँस्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की, पूर्व विद्यार्थी समाजका अध्यक्ष बाँस्तोला, हिमाल दर्शन माविका विव्यस अध्यक्ष ओम प्रसाद बास्तोला, प्रधानाध्यापक अशोक कुमार शर्मा लगायत समाजसेवी तथा शिक्षा प्रेमीहरुको उपस्थिति थियो ।
हिमाल दर्शन माविको ५० औँ वर्षको अवसरमा स्वर्ण महोत्सवको पूर्व सन्ध्यामा समाज र विद्यालय दुबै पक्षले गरेको घोषणा अनुसार अहिले विद्यालयको शैक्षिक सुधारका लागी विभिन्न कार्यक्रमहरू भइरहेको अध्यक्ष बाँस्तोलाको भनई छ ।
Discussion about this post