पौष ११, सोलुखुम्बु । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा खोटाङका इन्द्रबहादुर थापा सर्वाधिक चर्चामा रहनुभएको छ । ६८ वर्षको उमेरमा समाजशास्त्र (सोसोलोजी) विषयमा स्नातकोत्तर उपाधि हासिल गर्दै उहाँले जीवनभरको सिकाइको प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको हो । ३० वर्षसम्म सरकारी सेवामा कार्यरत रहनुभएका थापाले आफ्ना ६ जना छोराछोरीलाई अध्ययन गराइसकेपछि आफूले अधूरो रहेको उच्च शिक्षा पूरा गर्ने चाहना पूरा गर्नुभएको बताउनुभयो ।
उमेर अध्ययनको बाधा नबन्ने सन्देश दिन सफल थापाको उपलब्धिले दीक्षान्त समारोहमा सहभागीहरूलाई विशेष रूपमा प्रेरित गरेको छ । यसैबीच, त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका अग्रज व्यक्तित्वहरूले विद्यार्थीहरूलाई दीक्षित भएको घोषणा गर्नुभएको हो ।
विश्वविद्यालयका अनुसार यस वर्ष स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी जम्मा ८९ हजार १ सय १ जना विद्यार्थी उत्तीर्ण भएका छन्। दीक्षान्त समारोहले देशभरका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई औपचारिक मान्यता दिएको विश्वविद्यालयले जनाएको छ ।











Discussion about this post