पौष ११, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका शिक्षा शाखा अधिकृत निर कुमार बस्नेतले विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु शिक्षा क्षेत्रको ठूलो चुनौती बनेको बताउनुभएको छ । शुक्रबार रेडियो एभरेष्टकी पत्रकार सबिना राईसँग कुराकानी गर्दै उहाँले यो समस्या गाउँपालिकामा मात्र सीमित नभई देशव्यापी रूपमा देखिएको उल्लेख गर्नुभयो ।
स्थानीय तहमा बसाइँसराइ बढ्नु र जन्मदर घट्नुका कारण विगतको तुलनामा विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार ऐसेलुखर्क गाउँपालिकामा गत वर्ष करिब २९ सय विद्यार्थी रहेकामा यस वर्ष घटेर करिब २६ सयको हाराहारीमा पुगेका छन् । विद्यार्थी संख्या घटे पनि गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न प्रयासहरू गरिरहेको उहाँले बताउनुभयो ।
विद्यार्थीको पठनपाठनलाई प्रभावकारी बनाउन केही विद्यालयमा स्मार्ट बोर्ड लगायतका शैक्षिक सामग्रीहरू उपलब्ध गराइएको र शैक्षिक गुणस्तर सुधारमा जोड दिइएको उहाँले जानकारी दिनुभयो । साथै गाउँपालिकामा शिक्षक व्यवस्थापन राजनीतिक प्रभावबाट मुक्त राखिएको समेत उहाँले स्पष्ट पार्नुभयो । गाउँपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्र सुधारका लागि आवश्यक योजना र कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ ।











Discussion about this post