पौष १२, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले मातृ तथा शिशु मृत्युदर शून्यमा झार्न सफल भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक सचिन श्रेष्ठले विगत तीन वर्षदेखि निरन्तर स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तार गरिएकाले यो उपलब्धि हासिल भएको बताउनुभएको छ । शनिबार रेडियो एभरेष्टकी पत्रकार सबिना राईसँग कुराकानी गर्दै स्वास्थ्य संयोजक श्रेष्ठले गाउँपालिकामा हाल तीन वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेको, निरन्तर खोप सेवा उपलब्ध गराइएको तथा निःशुल्क प्रसूति सेवा प्रदान गरिँदै आएकाले मातृ–शिशु मृत्युदर शून्य बनाउन सफल भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकामा हाल एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्य चौकी सञ्चालनमा छन् भने १५ शैयाको एक आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । यसले स्थानीयवासीलाई थप सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले ठूलो लगानी गर्दै आएको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षमा विभिन्न भौतिक संरचना निर्माण तथा अन्य कार्यक्रमका लागि २ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र महिलालाई लक्षित गर्दै गाउँघर क्लिनिक तथा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । साथै, स्वास्थ्य क्षेत्रमा जनप्रतिनिधिहरूको सकारात्मक भूमिका र सहयोगका कारण गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेखनीय फड्को मारेको स्वास्थ्य संयोजक श्रेष्ठको भनाइ छ । यद्यपि, पछिल्लो समय गाउँपालिकामा दीर्घ रोगको समस्या बढ्दो क्रममा देखिएकाले त्यसको न्यूनीकरणका लागि विशेष कार्यक्रम आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।











Discussion about this post