पौष १२, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ मा १५ दिने वेल्डिङ इलेक्ट्रोनिक सिप विकास तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बु र वडा कार्यालयको समन्वयमा शनिबारबाट तालिम सञ्चालनमा आएको हो ।
कार्यक्रम संयोजक टेकबहादुर बस्नेतका अनुसार “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने नाराका साथ सुरु भएको उक्त तालिम पौष २६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा २० जनाको सहभागिता रहेको छ भने प्रशिक्षकका रूपमा वीरबहादुर माझीले सहजिकरण गरिरहनुभएको छ । तालिमको उद्घाटन घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यता तथा कार्यवाहक वडा अध्यक्ष सिता राईको अध्यक्षतामा सम्पन्न भएको आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक वडा अध्यक्ष राईले यस प्रकारको तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर तथा उद्यमी बन्न सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले सहभागीहरूलाई इच्छाशक्ति र लगनशीलताका साथ सिप सिक्न आग्रह गर्नुभयो । त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खतिवडाले विगतमा जिल्लाका विभिन्न वडाहरूमा सञ्चालन गरिएका यस्ता तालिमहरू प्रभावकारी देखिएको उल्लेख गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिमलाई निरन्तरता दिइएको बताउनुभयो ।










Discussion about this post