पौष १४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कुल मतदाताको संख्या ८५ हजार ५ सय १५ कायम भएको छ । हालै सम्पन्न मतदाता नामावली अद्यावधिकपछि २ हजार ६ सय ६१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि असोज १० गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानबाट मतदाताको संख्या वृद्धि भएको हो ।
यसअघि जिल्लामा ८२ हजार ८ सय ५४ मतदाता रहेका थिए। नामावली संकलनका क्रममा २ हजार ६ सय ६४ जनाले विवरण दर्ता गराए पनि अद्यावधिक प्रक्रियापछि २ हजार ६ सय ६१ जनामात्र अन्तिम मतदाता नामावलीमा समावेश भएका छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूको विवरण समेट्दै निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको कार्यालयले जानकारी दिएको छ ।
हालको तथ्याङ्कअनुसार सोलुखुम्बुमा ४४ हजार ४ सय ८३ जना पुरुष र ४१ हजार ३२ जना महिला मतदाता रहेका छन् । अन्तिम नामावलीअनुसार जिल्लाभर १ सय २३ मतदान स्थलमा १ सय ३८ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगको निर्देशनअनुसार आवश्यक सम्पूर्ण तयारीका कामहरू तीव्र रूपमा अघि बढिरहेको कार्यालयले जनाएको छ ।











Discussion about this post