असोज २०, सोलुखुम्बु । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सल्लेरी शाखाले दसैँलाई लक्षित गरी सुकिला नोट सटही सेवा सुरु गरेको छ । बैंकले सोमबारदेखि सर्वसाधारणका लागि सुकिला नोट सटही सेवा सञ्चालनमा ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शाखाका शाखा प्रबन्धक सुमन चापागाईँका अनुसार यस वर्ष एक जना सेवाग्राहीले अधिकतम १८ हजार रुपियाँसम्म सुकिला नोट सटही गर्न पाउने व्यवस्था गरिएको छ ।
सटही सेवाअन्तर्गत एक सय, ५०, २०, १० र पाँच रुपियाँ दरका नोटको एक–एक सेट उपलब्ध गराइनेछ । बैंकका अनुसार फूलपातीको अघिल्लो दिन अर्थात् असोज ३० गतेसम्म सुकिला नोट सटही सेवा सञ्चालन हुनेछ । दसैँका समयमा टीका तथा दक्षिणाका लागि नयाँ तथा सुकिला नोटको माग बढ्ने भएकाले सर्वसाधारणको सुविधाका लागि सटही सेवा सुरु गरिएको बैंकले जनाएको छ ।
सुकिला नोट सटही सेवा सुरु भएसँगै बैंकमा सेवाग्राहीको चापसमेत बढेको छ । दसैँ नजिकिँदै जाँदा नोट सटहीका लागि आउने सेवाग्राहीको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।










Discussion about this post