असोज २०, सोलुखुम्बु । सोलुखुम्बुको हिमाली क्षेत्रमा संसाकै सबैभन्दा अग्लो स्थानमा लामो पुल निर्माण सम्पन्न भएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकास्थीत ४ नम्बर वडामा समुद्री सतहबाट ४ हजार ६२० मिटरको उचाइमा निर्माण गरिएको २०६ मिटर लामो थुक्ला झोलुंगे पुल सञ्चालनमा आएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थुक्ला खोलामाथि निर्माण गरिएको पुलको असोज २० गते गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाको ५ करोड ५ लाख ९५ हजार ७६९ रुपैयाँ ८५ पैसा लागतमा निर्माण गरिएको उक्त पुल उच्च हिमाली क्षेत्रमा निर्माण भएको महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार यो संसारकै उच्च स्थानमा रहेको सबैभन्दा लामो झोलुंगे पुल हो ।
पुल उद्घाटनका क्रममा तीन जना लामा गुरुबाट मन्त्रोच्चारण तथा पूजाआजा गरिएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमलगायतको उपस्थिति थियो । पुल सञ्चालनमा आएसँगै थुक्ला खोला पार गर्न स्थानीय बासिन्दा तथा पर्यटकले झेल्दै आएको जोखिमसमेत कम भएको छ।
यसअघि खोलाबाट करिब ३० मिनेटसम्म जोखिमपूर्ण बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता थियो । नयाँ पुल सञ्चालनमा आएपछि थुक्ला क्षेत्रमा आवतजावत सहज हुनुका साथै खुम्बु क्षेत्रको पर्यटन तथा स्थानीय जनजीवनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।










Discussion about this post