असोज २०, सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाले सामुदायिक विद्यालयमा संगीत तथा नृत्य प्रशिक्षणका लागि प्रशिक्षक माग गरेको छ । गाउँपालिकाले एक–एक जना संगीत प्रशिक्षक र नृत्य प्रशिक्षक नियुक्त गर्न खुला दरखास्त आह्वान गरेको हो । विद्यालयमा नियमित पठनपाठनमात्र नभएर जिवनोपयोगी सिपलाई समेत प्राथमिकतामा राखेर यस्तो कदम अघि बढाएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।
विद्यार्थीको चाहाना तथा इच्छाअनुसारको सिकाई भएकाले यो कार्यको ाथलनी गरिउको उहााको भनाई छ । गाउँपालिकाले असोज २० गते सूचना निकालेर नृत्य तथा संगीत दुवै पदका लागि निम्न माध्यमिक शिक्षा, तृतीय श्रेणीसरहको तह तोकिएको छ । प्रशिक्षकका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी संगीत वा नृत्य विषय अध्ययन गरेको अथवा मान्यता प्राप्त संगीत तथा नृत्य पाठशालाबाट सम्बन्धित विषयको तालिम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । गाउँपालिकाका अनुसार छनोट प्रक्रिया मौखिक परीक्षाका आधारमा हुनेछ ।
परीक्षामा उम्मेदवारले पेश गरेका कागजात रुजु तथा मूल्यांकनका आधारमा छोटो सूचीमा सूचीकृत गरिनेछ । प्रशिक्षकले निम्न माध्यमिक शिक्षा, तृतीय श्रेणीसरहको स्केल तलबसँगै चाडपर्व खर्च, पोसाक भत्ता र मासिक ५ हजार रुपैयाँ फिल्ड भत्ता पाउने सूचनामा उल्लेख छ । दरखास्त दस्तुर भने ५ सय रुपैयाँ तोकिएको छ ।
इच्छुक उम्मेदवारले असोज ३० गतेसम्म गाउँपालिकाको शिक्षा शाखामा दरखास्त दिन सक्नेछन् । दरखास्त गाउँपालिकाको शिक्षा शाखामा प्रत्यक्ष वा सूचनामा उल्लेख गरिएको इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा संगीत र नृत्यको प्रशिक्षणलाई व्यवस्थित बनाउन प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।










Discussion about this post