अशोक साम्पाङ, खोटाङ । खोटाङको दिक्तेल बजारमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको छ । २०७६ सालदेखि चितवनबाट सञ्चालन हुँदै आएको लोकसेवा सारथि दिक्तेल शाखाको सहजीकरणमा ६० दिने लोकसेवा तयारी कक्षा सञ्चालन हुन लागेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चार लाख रुपैयाँ बजेटमा सञ्चालन हुने उक्त कक्षामा नगरपालिका भित्रका ४१ जना विद्यार्थीले सहभागिता जनाउने अवसर पाउने छन् । लोकसेवातर्फ इच्छुक तर आर्थिक तथा पहुँचका कारण अवसर नपाएका युवालाई लक्षित गरी यो कक्षा सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले लोकसेवा देशसेवा गर्ने एउटा महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै, यस्तो निःशुल्क कक्षाले युवामा आत्मविश्वास बढाउने र प्रतिस्पर्धामा अगाडि बढ्न प्रेरणा दिने बताउनुभयो । लगन, अनुशासन र निरन्तर अभ्यास भए लोकसेवामा सफल हुन सकिने अधिकृत राईले भन्नुभयो ।

लोकसेवा सारथिका प्रबन्धक महेश घिमिरेले लोकसेवा तयारीलाई व्यवस्थित, विषयगत र व्यावहारिक बनाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कक्षामा सामान्य ज्ञान, संविधान, प्रशासन, समसामयिक विषय, वस्तुगत तथा विषयगत तयारीका साथै नियमित परीक्षण र परामर्श समेत समेटिने बारे स्पष्ट पार्नु भयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका वडाध्यक्ष दान बहादुर राईले नगरपालिकाको कार्यक्रम अन्तर्गत वडाका विद्यार्थीहरू पनि समेटिनु खुसीको विषय भएको बताउनुभयो । उहाँले सहभागी विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्न शुभकामना व्यक्त गर्नुभयो ।

नगरपालिकाका उपमेयर विसन राईले लोकसेवा केवल जागिर नभई सामाजिक चरित्र र जिम्मेवारीसँग जोडिएको विषय भएको बताउनुभयो । अवसरको ढोका आफैले खोल्नुपर्छ, नगरपालिकाले बाटो मात्र देखाउने उपमेयर राईले भन्नुभयो ।

नगरपालिकाका मेयर तीर्थराज भट्टराईले यस्तो लगानीले नगरको शैक्षिक तथा प्रशासनिक स्तर उकास्ने विश्वास व्यक्त गर्नुभयो । सबै क्षेत्रमा पहिलो हुन सकिन्छ, सफलताको शिखरसम्म पुग्न सकिन्छ, यो कक्षाले त्यसको आधार तयार गर्छ, मेयर भट्टराईले भन्नुभयो ।

स्थानीय सरकार, शैक्षिक अभियान र युवाको चाहनालाई जोड्दै सञ्चालन हुन लागेको यो निःशुल्क लोकसेवा तयारी कक्षाले खोटाङका युवालाई लोकसेवातर्फ आकर्षित गर्ने र सक्षम जनशक्ति उत्पादनमा जोड साथै स्थानीय तहबाट युवामा गरिएको दीर्घकालीन लगानीको उदाहरण पनि बनेको छ ।












Discussion about this post