पौष २०, सोलुखुम्बु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बु जिल्लाबाट नेकपा एमालेको तर्फबाट युवा नेता वीर उदास श्रेष्ठले उम्मेदवारीको दाबेदारी प्रस्तुत गर्नुभएको छ । सोलु एमालेले उम्मेदवार सिफारिसको तयारी गरिरहेका बेला श्रेष्ठले पार्टीभित्र औपचारिक रूपमा आफ्नो दाबेदारी अघि सार्नुभएको हो ।
पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व, संगठनात्मक अनुभव तथा निरन्तर राजनीतिक सक्रियताको आधारमा आफू उम्मेदवारका लागि योग्य रहेको उहाँको दाबी छ । श्रेष्ठले नेतृत्वले राजनीतिक दललाई निजी कम्पनीझैँ प्रयोग गर्ने प्रवृत्तिका कारण कार्यकर्ता राजनीतिप्रति निरुत्साहित हुँदै गएको बताउँदै समयमै रूपान्तरण र पुस्तान्तरण हुन नसके पुराना दलहरूको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिनुभयो।
युवापुस्ताको आकर्षण बढाउन पुस्तान्तरणलाई नारामा मात्र सीमित नराखी नेतृत्व हस्तान्तरण, निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता र परिणाममुखी राजनीतिलाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ। अनुभवी नेतृत्वको मार्गदर्शनमा नयाँ पुस्तालाई जिम्मेवारी दिनु पार्टी र लोकतन्त्र दुवैको हितमा हुने उल्लेख गर्दै उम्मेदवारीका लागि पार्टीभित्रका युवाहरूबाट आफूलाई ठूलो दबाब रहेको श्रेष्ठले बताउनुभयो।
श्रेष्ठले अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि युवा संघ नेपाल हुँदै हाल जिल्लाको पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । यसैबीच, सोलुखुम्बु जिल्लाबाट समानुपातिक तर्फ जिल्ला अध्यक्ष डिलकुमार बास्तोलाको नाम सूचीमा समावेश गरिएको छ ।











Discussion about this post