पौष २०, सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुले मुक्ली बाढी पिडितलाई राहत वितरण गरेको छ । गत भदौ १ र २ गते आएको भीषण वर्षातका कारण खेतीपाती तथा घरबासमा क्षति व्यहोरेका मुक्लीका प्रभावित ५७ परिवारलाई राहत वितरण गरिएको हो । बाढीका कारण बालीनाली, खेतवारी र घरै समेत गुमाएका परिवारका लागी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि नवीन थापा तथा तरूण दल सचिव शेखर बस्नेतले सञ्चालन गरेको अभियान मार्फत संकलन गरेको २ लाख ६८ हजार रुपैयाँ रकम सहयोग गरिएको हो । अभियानमा नेता कैलाश के सि र कल्याण गुरुङकाे पनी साथ रहेकाे थियाे ।
काङ्ग्रेसले क बर्गका बाढी प्रभावितहरू २ घरलाई १०/१० हजार रुपैयाँ, ख बर्गका प्रभावितहरू ५ घरलाई ७/७ हजार र ग वर्गका बाढी प्रभावित ५० घरहरूलाई ५/५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको महाधिवेशन प्रतिनिधि थापाले बताउनुभयो । नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै काङ्ग्रेस सभापति शेर्पाले थुलुङ दुधकोशी गाउँपालिकामा विपद व्यवस्थापनको दर्विलो योजना बनाएर अगाढी लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यस्तै नेपाली काङ्ग्रेसका नेता तथा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले बाढी पीडितहरूको घाउमा मल्हमपट्टी लगाउन प्रयास गरिएको उल्लेख गर्नुभयो । यता महाधिवेशन प्रतिनिधि नवीन थापा र काङ्ग्रेस प्रदेश क उपसभापति फुर्तिमान तामाङले गाउँपालिकाले विपदकाे क्षेत्रमा काम गर्न ध्यान दिन पालिकालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा काङ्ग्रेस थुलुङ दुधकोसीको सभापति भक्त बहादुर गुरुङ, तरुण दल केन्द्रिय सदस्य अस्वीन बाबु थापा, नेता खेम गुरुङ सहितको उपस्थिति थियो । राहत वितरण कार्यक्रम नेपाली काङ्ग्रेस थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीको समन्वयमा सम्पन्न भएकाे थियाे भने कार्यक्रमकाे सभापतित्व वडा सभापति अम्बर काजी बस्नेतले गर्नुभयाे ।











Discussion about this post