पुस २१, साेलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाध्यक्ष लिला कुमार चौहान पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी लठ्ठ अवस्थामा तोडफोड तथा कुटपिट गरेको आरोपमा उनलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वडाध्यक्ष चौहानले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ निवासी खड्ग खत्रीको घरको ढोका हानेर तोडफोड गरेका थिए। घटनाका क्रममा खत्रीकी श्रीमती तथा सोही घरमा डेरा गरी बस्दै आएका भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्राविधिक एटसन दाहालमाथि हेल्मेट प्रहार गरेको आरोप समेत लागेको छ।
घटनापछि आक्रोशित स्थानीयले वडाध्यक्ष चौहानलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए। हाल उनलाई प्रहरी हिरासतमा राखी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
पक्राउ परेका लिला कुमार चौहान नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष हुन्। जनप्रतिनिधिबाटै यस प्रकारको गैरजिम्मेवार र अराजक व्यवहार देखिनु निन्दनीय भएको भन्दै स्थानीयस्तरमा व्यापक आलोचना सुरु भएको छ।











Discussion about this post