पौष २१, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले दलित तथा पिछडिएका समुदायको सामाजिक सशक्तीकरण र आत्मनिर्भरतालाई जोड्दै धार्मिक कर्मकाण्ड सम्बन्धी तालिम सुरु गरेको छ । परम्परागत रूपमा सीमित अवसर पाउँदै आएका समुदायलाई सीप र भूमिकामा अघि सार्ने उद्देश्यसहित एक साताको तालिम सञ्चालन गरिएको हो ।
गाउँपालिकाले आयोजना गरेको तालिममा सात वटै वडाबाट छनोट गरिएका ११ जना दलित समुदायको सहभागिता रहेको छ। तालिमले जन्म, विवाह, मृत्यु संस्कारदेखि चाडपर्वमा गरिने पूजापाठ सम्मका कर्मकाण्डलाई व्यावहारिक रूपमा सिकाउने लक्ष्य राखेको छ, जसबाट सहभागीहरूले समुदायमै सेवा दिन सक्ने आधार तयार हुने अपेक्षा गरिएको छ । स्थानीय तहका अनुसार यो तालिम केवल धार्मिक ज्ञानमा सीमित छैन, बरु सामाजिक विभेद तोड्ने अभियानको एक हिस्सा हो ।
उपाध्यक्ष गौरव राईले संविधानले छुवाछूतलाई दण्डनीय ठहर गरे पनि ग्रामीण समाजमा व्यवहारिक चुनौती कायमै रहेको बताउँदै, समुदायभित्रै दक्ष जनशक्ति विकास गर्नु दीर्घकालीन समाधान हुने धारणा व्यक्त गर्नुभयो । तालिममार्फत दलित समुदायका अगुवालाई परम्परागत धार्मिक भूमिकामा स्थापित गराएर सम्मान, पहिचान र रोजगारीका नयाँ सम्भावना सिर्जना गर्ने गाउँपालिकाको विश्वास छ । स्थानीय स्तरमै समावेशी अभ्यास सुरु गरेर सामाजिक समानताको बाटो खोल्ने यो पहललाई उदाहरणीय कदमका रूपमा हेरिएको छ ।











Discussion about this post