अशोक साम्पाङ, खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङले उम्मेदवार सिफारिस गरेको छ । उम्मेदवार सिफारिस गर्ने क्रममा कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरेलाई आम जनताले विशेष रूपमा हेरेका छन् । सोमबार बसेको एमाले खोटाङको सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । सिफारिस सूचीमा समावेश युवा, कानुनी क्षेत्रका दक्ष तथा सुशासनको पक्षमा स्पष्ट धारणा राख्दै आएका युवा अधिवक्ता घिमिरेको नामले विशेष ध्यान तानेको छ । कानुनी क्षेत्रमा लामो अनुभव सँगाल्दै आएका, वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितामा स्पष्ट छवि बनाएका घिमिरेलाई एमाले खोटाङले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने सक्षम उम्मेदवारका रूपमा हेरेको बुझिन्छ ।
नेपाली, समाजशास्त्र र राजनीतिकशास्त्रमा एम.ए. तथा कानूनमा एलएलबी गरेका घिमिरे खोटाङ जिल्लामै बसेर अभ्यासरत एक चर्चित कानून व्यवसायीका रूपमा परिचित छन् । अध्ययनशील स्वभाव, संविधान र कानूनप्रतिको गहिरो बुझाइ तथा व्यावसायिक इमान्दारिताका कारण उनी नयाँ अनुहारका रूपमा उदाउँदै आएका छन् । यही कारण आम नागरिकले घिमिरेलाई सचेत, सक्षम र सुशासनमुखी नेतृत्वको सम्भावनाका रूपमा चासोका साथ हेर्न थालेका छन् । एमाले खोटाङले सिफारिस गरेका अन्य नामहरूमा केन्द्रीय सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य पाँचकर्ण राई (पिके), कोशी प्रदेश कमिटी उपसचिव देवान राई, जिल्ला अध्यक्ष देवविक्रम राई, पूर्व केन्द्रीय सदस्य खगेन्द्र राई, पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, पूर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य धनकुमारी श्रेष्ठ तथा अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु उपरकोटी रहेका छन् । सिफारिस गरिएका उम्मेदवारहरूको नाम आजै प्रदेश कमिटीमा पठाइसकिएको र जिल्ला सचिवालयको बैठकले सबै आकांक्षीहरूको नाम कुनै मतभेद बिना सर्वसम्मत रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष देवविक्रम राईले जानकारी दिए । अब प्रदेश हुँदै केन्द्रीय तहको निर्णयपछि खोटाङको प्रतिनिधिसभा उम्मेदवारी टुंगो लाग्नेछ । सिफारिस सूचीले जिल्लामा अनुभव र नयाँ सोचको संयोजनमार्फत सुशासनमुखी नेतृत्व खोजिएको संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।











Discussion about this post