माघ १, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिका–५ नं वडा कार्यालय, दुवेकोलको आयोजनामा पौष २८ गतेदेखि दुवेकोलमा सञ्चालन भएको रावा बेसी गाउँपालिका अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। रावा बेसी गाउँपालिका–५ दुवेकोलका वडा अध्यक्ष मनकुमार गुरुङको सभापतित्व तथा रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा आयोजक–ए टिम दुवेकोलले प्रथम स्थान हासिल गर्दै ५१ हजार १ सय ५१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। त्यसैगरी कुभिण्डे टिम द्वितीय भई ३१ हजार १ सय ३१ रुपैयाँ तथा हौंचुर टिम तृतीय भई २१ हजार १ सय २१ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्। विजेता टिमहरूलाई शिल्ड, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
विधागततर्फ आयोजक टिम ए का रोशन वि।क। सर्वोत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट स्पाइकरमा रुपेस कट्वाल, उत्कृष्ट ब्लकरमा कुभिण्डेका सबिन श्रेष्ठ, उत्कृष्ट सेटरमा टिकाराम सुवेदी, उत्कृष्ट लिब्रोमा सुबास मगर तथा हौंचुर टिमका सन्देश वि।क। अनुशासित खेलाडी घोषित भएका थिए।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई २ हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा रावा बेसी गाउँपालिकाकी उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत राजेश दाहाल, पूर्व गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, वडा नं १ का वडा अध्यक्ष गेहेन्द्रमान राई, वडा नं २ का वडा अध्यक्ष डोलराज बस्नेत, वडा नं ४ का वडा अध्यक्ष ज्ञानबहादुर पाण्डे, वडा नं ६ का वडा अध्यक्ष चिरञ्जीवी कार्की, गाउँपालिकाका विषयगत शाखा प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक, कर्मचारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सफलताका लागि रावा बेसी गाउँपालिका–५ दुवेकोल घर भई हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएका राजकुमार निरौलाले ९ थान शिल्ड, ३३ थान मेडल, २ थान भलिबल, १ थान नेट तथा भलिबल कोर्टको फित्ता प्रायोजन गर्नुभएको थियो। त्यसैगरी दुवेकोल निवासी हाल जापानमा रहनुहुने हिमाल निरौलाले ९ थान खेलाडी जर्सी र १ थान टिम कोच ट्र्याक तथा सोही वडा घर भई हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएका मानबहादुर गुरुङले २ थान भलिबल र १ थान नेट प्रायोजन गर्नुभएको थियो।











Discussion about this post