माघ ४, सोलुखुम्बु । जनता समाजवादी पार्टी, नेपालका नेता लाक्पा शेर्पाले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ । आईतबार सदरमुकाम सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै उम्मेद्वार शेर्पाले आफू निर्वाचित भए भुइँमान्छेको आवाज केन्द्रसम्म पुर्याउने प्रमुख एजेण्डाका साथ संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले देशमा हालै सम्पन्न नवयुवा पुस्ताको आन्दोलनपछि आन्तरिम सरकार गठन भई मुलुक संघीय सांसद निर्वाचनको संघारमा आइपुगेको उल्लेख गर्नुभयो । गत भदौ २३ र २४ गते भएको आन्दोलनले राजनीतिक परिवर्तनलाई गति दिएसँगै फागुन २१ गतेमै निर्वाचन सम्पन्न गर्ने तयारीमा सरकार, राजनीतिक दल, आम मतदाता तथा निर्वाचन आयोग दत्तचित्त भएर अघि बढिरहेको छ ।
यसै सन्दर्भमा माघ ६ गते उम्मेद्वारहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । जनता समाजवादी पार्टी, नेपालले लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था, धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, सुशासन, पहिचानसहितको संघीयता हुँदै समाजवादतर्फ उन्मुख हुने राजनीतिक एजेण्डा निरन्तर उठाउँदै आएको छ । उम्मेद्वार शेर्पाले यी एजेण्डाहरूलाई व्यवहारमा उतार्न सोलुखुम्बुबाट सशक्त जनमत आवश्यक रहेको बताउनुभयो ।











Discussion about this post