माघ ६, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा अध्यक्ष कप भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाले माघ २९ गते गाउँपालिका रंगशाला कोर्कुमा महिला तथा पुरुषतर्फ अध्यक्ष कप भलिबल प्रतियोगिता र माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ।
अध्यक्ष कप भलिबल प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने टोलीलाई क्रमशः ५० हजार, ४० हजार, ३० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सर्वोउत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी, माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा युवा सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।











Discussion about this post