माघ ६, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा अध्यक्ष कप भलिबल तथा राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाले माघ २९ गते गाउँपालिका रंगशाला कोर्कुमा महिला तथा पुरुषतर्फ अध्यक्ष कप भलिबल प्रतियोगिता र माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ।
अध्यक्ष कप भलिबल प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने टोलीलाई क्रमशः ५० हजार, ४० हजार, ३० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सर्वोउत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी, माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा युवा सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।











Discussion about this post