माघ ५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले पदबाट राजीनामा दिनुभएको छ । नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुनको व्यवस्था अनुसार उहाँले व्यक्तिगत तथा राजनीतिक कारण देखाउँदै माघ २ गतेदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।
गाउँपालिकाद्वारा पेश गरिएको राजीनामा पत्रमा अध्यक्ष राईले आफूलाई दुई–दुई पटक अमूल्य मत दिएर निर्वाचित गरिदिने सम्पूर्ण गाउँपालिकावासीलाई आभार व्यक्त गर्नुभएको छ । साथै कार्यकालभर गाउँपालिकाको विकास र समृद्धिका लागि सहकार्य गर्ने उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, निर्वाचित जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कार्यरत सम्पूर्ण कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
राजीनामा पत्रमा अध्यक्ष राईले आफ्नो पहिलो र दोस्रो कार्यकालमा गाउँपालिका र गाउँपालिकावासीको हितमा इमान्दारितापूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गर्नुभएको छ । अध्यक्ष पदमा नरहे पनि आगामी दिनमा गाउँपालिकाको विकास र समृद्धिको यात्रामा निरन्तर सक्रिय रहँदै अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कागजातमा उल्लेख भएअनुसार, राजीनामा सम्बन्धी पत्रको चलानी प्रक्रिया पूरा भइसकेको गाउँपालिकाले जनाएको छ ।











Discussion about this post