अशोक साम्पाङ । खोटाङको बुईपा यतिबेला फुटबलको उत्सवमा रंगिएको छ । गाउँको खेलमैदानबाटै राष्ट्रिय सपना बोकेर ‘प्रभुराम राई आमन्त्रित कप’ खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो । माघ ७ गते बुधबार बुईपास्थित यलम्बर रंगशालामा सञ्चालन भएको प्रतियोगिताले खोटाङको फुटबललाई नयाँ उचाइतर्फ डो¥याउने अपेक्षा गरिएको छ । बुईपा-११ स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगिता केवल खेल मात्र होइन, एक व्यक्तिको सपना, परिवारको समर्पण र समुदायको एकताको प्रतिफल हो । यलम्बर रंगशालाका परिकल्पनाकार, पूर्व ब्रिटिस गोर्खा सैनिक, बुईपा पञ्चायतका २०४४ सालका निर्वाचित प्रधानपञ्च तथा ८२ वर्षीय समाजसेवी प्रभुराम राईको सम्मान र सम्झनामा उहाँकै परिवारको लगानीमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले गर्नुभयो । उद्घाटन खेलमै आयोजक बुईपा-११ फुटबल क्लबले ऐसेलुखर्क गाउँपालिका टिमलाई ४-० ले पराजित गर्दै घरेलु दर्शकमाझ बलियो सन्देश दियो । खेलको १९औँ मिनेटमा प्रभिन राईले हेडमार्फत प्रतियोगिताको पहिलो गोल गर्दै यलम्बर रंगशालालाई उत्साहित बनाए । त्यसपछि डिकेन राई र मिलन राईले गोल थप्दा प्रभिन राईले व्यक्तिगत दोस्रो गोल गर्दै खेलको नतिजा सुनिश्चित गरे । दुई गोल गरेका प्रभिन राई म्यान अफ द म्याच घोषित भए । जिल्ला बाहिरका चार टिमसहित कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताले स्थानीय खेलाडीलाई बाहिरी प्रतिस्पर्धासँग जुध्ने अवसर दिएको छ । आयोजकका अनुसार यो प्रतियोगिता प्रतिभा पहिचान, खेलाडीको मनोबल वृद्धि र जिल्लामा फुटबल संस्कार विस्तार गर्ने लक्ष्यका साथ अघि बढाइएको हो । प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५१ हजार रुपैयाँ, सेमिफाइनलिस्ट दुइटीमले ५०-५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट र म्यान अफ द म्याचलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । १७ लाख रुपैयाँभन्दा बढी बजेटमा आयोजना भइरहेको यो प्रतियोगिताको पुरस्कार राशि खोटाङकै इतिहासमा सबैभन्दा ठूलो मानिएको छ । कुनै समय सामान्य खेलमैदान रहेको यलम्बर रंगशाला आज जिल्लाको खेल पहिचान बन्दै गएको छ । प्रभुराम राई परिवारको निरन्तर लगानी, बुईपा-११ फुटबल क्लबको सक्रियता र स्थानीयको सहभागिताले बुईपालाई फुटबल नक्सामा चिनाउन थालेको छ । प्रतियोगिताको फाइनल खेल माघ ११ गते हुनेछ ।










Discussion about this post