फागुन १५, सोलुखुम्बु। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु ले फागु पूर्णिमा (होली) पर्व मर्यादित तथा सभ्य रुपमा मनाउन आग्रह गरेको छ। रंगहरुको पर्व फागु पूर्णिमा यस वर्ष प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मौन अवधिभित्र परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता तथा निर्वाचन आचारसंहिता परिपालना गर्न विशेष ध्यान दिन प्रशासनले अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृसंगठन, मतदाता तथा सम्पूर्ण जिल्लावासीलाई आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राखी होली पर्व मनाउन आग्रह गरेको जनाएको छ। यही फागुन १८ र १९ गते पर्ने होली पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले मनाउन निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न प्रशासनले निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदी ले आचारसंहिता उल्लंघन भएको देखिएमा नजिकको सुरक्षा निकायलाई तत्काल खबर गर्न, भिडभाड हुने कार्यक्रम आयोजना गर्नुपूर्व जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिन तथा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नगर्न आग्रह गर्नुभएको छ। प्रशासनले सबै पक्षलाई जिम्मेवार र सचेत भई पर्व मनाउन अपिल गरेको छ।










Discussion about this post