फागुन १७, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म जिल्लाभर सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । कार्यालयले जारी गरेको सूचनाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न अस्थायी रूपमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदी का अनुसार निर्वाचन अवधिभर जिल्लाभित्र कुनै पनि सार्वजनिक वा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन । तथापि, एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध ढुवानी गर्ने सवारी, दमकल, दूरसञ्चार सेवा, शव बहान, अस्पताल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न अनुमति दिइएको छ ।
त्यसैगरी, नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन तथा निर्वाचन आयोग बाट स्वीकृत भई सवारी पास लिएका सवारी साधनलाई पनि सञ्चालन अनुमति प्रदान गरिएको छ । कार्यालयले सूचनाको उल्लंघन गरी सवारी सञ्चालन गरेको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने चेतावनी दिएको छ । प्रशासनले सबै नागरिकलाई निर्वाचन प्रक्रियालाई सहयोग पु¥याउन आग्रह गरेको छ ।









Discussion about this post