फागुन १६, सोलुखुम्बु । सोलुखुम्बुमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै २ सय ८५ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १४२ जना मतदान अधिकृत र १४३ जना सहायक मतदान अधिकृतलाई फागुन १४, १५ र १६ गते तालिम दिएको हो।
निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार तालिममा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको भूमिका, मतदान प्रक्रिया, मतपत्र तथा निर्वाचन सामग्रीको सुरक्षित व्यवस्थापन, आचारसंहिता पालना, प्रतिवेदन तयारी, मतदान केन्द्रमा पुगेर गर्नुपर्ने पूर्वतयारी, नमुना मतदानलगायत विषयमा जानकारी गराइएको थियो।
जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका निर्वाचन अधिकृत दिपेन्द्रराज अधिकारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन तालिमले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मतदान केन्द्रमा खटिने कर्मचारीले कानुनअनुसार आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
जिल्लामा कुल ८५ हजार ५ सय १५ जना मतदाता रहेका छन्। जिल्लाभर १३९ वटा मतदान केन्द्र र १४९ वटा मतदान स्थल तोकिएका छन्। तालिमको सहजिकरण मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लिला कुमारी के।सी। पाण्डे तथा जिल्ला निर्वाचन अधिकारी दिपेन्द्रराज अधिकारीले गर्नुभएको थियो।










Discussion about this post