चैत्र २, सोलुखुम्बु । खोटाङ जिल्लामा आज आएको तीव्र हावाहुरीका कारण विभिन्न स्थानमा क्षति पुगेको छ। अचानक चलेको हावाहुरीले घरका छाना उडाउनुका साथै स्वास्थ्य चौकीका भवनमा जडान गरिएका सोलार प्यानलसमेत उडाएको स्थानीयले बताएका छन्।
स्थानीयवासीका अनुसार जिल्लाका विभिन्न गाउँहरूमा आएको हावाहुरीले केही घरका जस्तापाता उडाएको छ भने कतिपय स्थानमा रूख ढलेर बाटो अवरुद्ध भएका छन्। तीव्र हावाका कारण सडक आसपासका रूखहरू ढल्ने जोखिम बढेकाले आवतजावतमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
हावाहुरीका कारण मानवीय क्षतिको भने हालसम्म कुनै विवरण प्राप्त नभएको जनाइएको छ। यद्यपि, घरका छाना उड्नु, सोलार प्यानल क्षति हुनु तथा रूख ढल्दा सम्भावित दुर्घटनाको जोखिम बढेकाले स्थानीयवासी त्रसित बनेका छन्। सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था बुझ्ने तथा क्षतिको विवरण संकलन गर्ने कार्य सुरु गरेको जनाएको छ। मौसममा आएको अचानक परिवर्तनका कारण आगामी दिनमा पनि हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।










Discussion about this post