बैशाख १२, सोलुखुम्बु । लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम कार्यक्रम उदयपुरमा सम्पन्न भएको छ । शुक्रबार ओरेक उदयपुरको सभाहलमा सञ्चालन गरिएको उक्त तालिम हुरेन्डेक उदयपुरको आयोजना तथा जाल्पा एकीकृत विकास समाजको सह–आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमका लागि आर्थिक सहयोग वल्र्ड भिजन इन्टरनेसनल नेपालले गरेको थियो । तालिम कार्यक्रम महिला आर्थिक तथा सशक्तीकरण अधिकृत प्रदीप रायमाझीले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता हुरेन्डेक उदयपुरका अध्यक्ष शंकर बहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा सह–आयोजक संस्थाका अध्यक्ष मदनराज कटवाल अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । तीन दिनसम्म सञ्चालन भएको तालिममा ओरेक नेपालकी केन्द्रीय अध्यक्ष सविता पोखरेलले प्रशिक्षण दिनुभएको थियो ।
उदयपुर जिल्लाका ताप्ली गाउँपालिका, रौतामाई गाउँपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र त्रियुगा नगरपालिकाका १७ वटा वडाबाट जम्मा ३० जना सहभागी भएका थिए । तालिममा लैङ्गिक हिंसा, दुव्र्यवहार न्यूनीकरण तथा महिला सशक्तीकरणका विषयमा विशेष प्रशिक्षण दिइएको थियो ।
सहभागीहरूलाई व्यवहारिक ज्ञान तथा सीप प्रदान गर्दै समाजमा समावेशीकरण अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रमको समापनमा विभिन्न स्थानीय तहबाट आएका सहभागीहरूलाई हुरेन्डेकका अध्यक्ष शंकर बहादुर थापा तथा प्रशिक्षक सविता पोखरेलद्वारा प्रमाणपत्र प्रदान गरिएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो ।










Discussion about this post