वैशाख २२, साेलुखुम्बु । सल्यानको जिल्ला प्रहरी कार्यालय परिसर नै एकाएक ‘बम फेला पर्ने स्थल’ मा परिणत भएको छ। भवन निर्माणका लागि जग खन्ने क्रममा एक-दुई होइन, पूरै ८६ वटा बम फेला परेपछि सुरक्षा संयन्त्र नै उच्च सतर्कतामा पुगेको छ।
वैशाख २२, साेलुखुम्बु । सल्यानको जिल्ला प्रहरी कार्यालय परिसर नै एकाएक ‘बम फेला पर्ने स्थल’ मा परिणत भएको छ। भवन निर्माणका लागि जग खन्ने क्रममा एक-दुई होइन, पूरै ८६ वटा बम फेला परेपछि सुरक्षा संयन्त्र नै उच्च सतर्कतामा पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेकाे थियाे । उत्खननका क्रममा हालसम्म कुल ८६ वटा बम फेला परेका छन्, जसलाई नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
गत बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा शङ्कास्पद वस्तु देखिएपछि उत्खनन रोक्दै सुरक्षा सतर्कता बढाइएको थियो। त्यसपछि निरन्तरको खोज तथा उत्खननका क्रममा शनिबार बिहानसम्म एकपछि अर्को गर्दै बमहरू फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार फेला परेका विस्फोटक सामग्रीमध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एउटा बोतल बम रहेका छन्। साथै सात थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, दुई केजी बम निर्माणमा प्रयोग हुने सामग्री तथा करिब १० मिटर फायरिङ केबलसमेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीका अनुसार, बम फेला परेपछि तत्काल नेपाली सेनाको सिद्धीबक्स गणसँग समन्वय गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो। थप विस्फोटक फेला परेपछि नं. १९ बाहिनी तुलसीपुर, दाङ र कालीभक्ती गण भैरहवाबाट आएको बम डिस्पोजल टोली परिचालन गरिएको थियो।
शनिबार सेनानी श्रीप्रसाद राणा मगर नेतृत्वमा रहेको इन्जिनियर टोली तथा सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा खटिएको टोलीले सबै बम सुरक्षित रूपमा निष्क्रिय पारेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार, उक्त विस्फोटक सामग्री सशस्त्र द्वन्द्वकालमा बरामद गरी बंकरमा राखिएको र समयक्रममा पुरिएको हुन सक्ने देखिएको छ। अहिले उक्त क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयजस्तो संवेदनशील क्षेत्रमै यति ठूलो परिमाणमा विस्फोटक सामग्री फेला पर्नुले द्वन्द्वकालीन अवशेष व्यवस्थापनमा अझै चुनौती बाँकी रहेको संकेत गरेको छ।
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
Discussion about this post