बैशाख २३, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अनुगमनका क्रममा फेला परेका अखाद्य वस्तुहरू नष्ट गरेको छ । बैशाख १० र ११ गते गरिएको बजार अनुगमनका क्रममा संकलित अखाद्य वस्तु बुधबार नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लु क्षेत्रमा रहेका मासु पसल, भेटेनरी पसल तथा किराना पसलहरूमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा म्याद गुज्रेका तथा उपभोगका लागि अयोग्य विभिन्न खाद्य सामग्रीहरू फेला परेका थिए । उक्त सामग्रीहरूको कुल मूल्य ३१ हजार ३ सय ३० रुपैयाँ रहेको र ती सबै वस्तु नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नियमित रूपमा यस्ता अनुगमनहरू जारी रहने प्रशासनले जनाएको छ । अखाद्य वस्तु नष्ट गर्ने कार्यमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।










Discussion about this post