बैशाख २४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहयोगी सहायक सामग्री वितरण गरिएको छ । प्रदेश सरकार, करुणा फाउण्डेशन नेपाल तथा राष्ट्रिय अपाङ्ग महासंघको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत उक्त सामग्री वितरण गरिएको हो ।
कार्यक्रम अन्तर्गत श्रवण समस्या भएका व्यक्तिका लागि श्रवण यन्त्र, हिँडडुलमा सहजताका लागि बैशाखी, ह्विलचियर, दृष्टिविहीन व्यक्तिका लागि सेतो छडी तथा शारीरिक अशक्तता भएका व्यक्तिका लागि कृत्रिम खुट्टासहित विभिन्न प्रकारका ५२ वटा सहयोगी सामग्री वितरण गरिएको महिला तथा बालबालिका शाखाकी महिला विकास निरीक्षक रीता ढुङ्गानाले जानकारी दिनुभयो ।
उक्त सामग्री सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङ लगायत उपस्थित अतिथिहरूद्वारा लाभग्राहीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले सहयोगी सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । नगरपालिकाले अपाङ्गता भएका नागरिकहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूको जीवनस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।











Discussion about this post